साहित्य/संस्कृति/सम्पदा - June 28, 2015
महेश्वर महर्जन (संकलन गरिएको)
मरु गणेश
एक प्रचलित आख्यानअनुसार हाल मरु गणेशको मन्दिर भएको ठाउँमा एक अशोक जातको विशाल रुख थियो । एकदिन यसै रुखमुनि सम्पूर्ण देवताहरूको भेला भएछन् । बडेमानको भुँडी भएका गणेश चाहीँ छुचुन्द्रो चढेर ढिलो पुगेछ । चन्द्रमा खिसी गर्दै हाँस्न थालेछन् । चन्द्रमाको चमक जुन आफ्नो नै होइन, त्यस्तो झूठो रूपको घमण्ड भएको चन्द्रमाले गणेशलाई यसरी खिसी उडाएको देखेर गणेश भगवान् रिसाएर क्रुद्ध भएछ र चन्द्रमालाई जस जसले तिमीलाई रातमा देख्छ सबै चोर बनोस्, तिम्रो चमकको श्रोतबाट प्रकाश नै तिमीमा नपरोस् भनी श्राप दिएछन् । श्रापबाट भयभित सबै देवताहरू चन्द्रमालाई देखेर चोर बन्नुपर्ला भनी गायब भएछन् ।
त्यसैबेलादेखि देवताहरू नभएको ठाउँ भएकोले यस ठाउँलाई मरु भनिएको भन्ने जनविश्वास रहेको पाइन्छ । पछि देवताहरूको सामूहिक आग्रह तथा चन्द्रमाको रोइ कराईले गणेश भगवान्ले श्राप फिर्ता त लिए तर गणेशजीले आफ्नो श्राप फिर्ता लिन नमिल्ने, तर श्रापको मात्रा कम गरी अंशको रूपमा वर्षमा एक दिन अर्थात श्री गणेशजीको आफ्नै जन्मदिन भाद्र शुक्ल चतुर्थीका दिन कसैले चन्द्रमाको रूप नहेरोस्, यदि हेरेमा झूठा दोष, मिथ्या आरोप लाग्नेछ र जगत्ले चन्द्रमाको यस्तो झूठो अभिमानलाई सधैँ याद गर्नेछ भन्ने कथन छ । पौराणिक कथनअनुसार चन्द्रमाको रूप सम्बन्धी यही अहंकारले गर्दा उनी श्रापित भए र वर्षमा एक दिन मात्र सो दोषले नछोड्ने गरी गणेश भगवान्ले माफी दिए । यसैकारण गणेश चौथीको दिन कसैले पनि चन्द्रमा हेर्न हुँदैन भन्ने जनविश्वास रही आएको छ । भगवान् कृष्णले यस दिन चन्द्रमा हेर्न पुग्दा स्यमन्तक मणी चोरको दोष लागेको प्रसङ्ग पाइन्छ । यसै गणेश चौथी (चथाः)को दाग मेटाउन नसकेको हुँदा अहिले पनि चन्द्रमा देखेका देवताहरूलाई त्यसदिन चोर्न मन लाग्ने गरेको बताइन्छ रे ।
सोही दिन लाय्कू बहीका तान्त्रिक विद्वान् लीलाबज्र बज्राचार्यले ने.सं. १३९ मा गणेशको जीवन्यास गरी अशोक विनायक मन्दिर (मरु गणेश) स्थापना गर्न लगाएको जनविश्वास रहेको छ । अशोक वृक्षको रुखमुनि स्थापित भगवान् भएकाले मरु गणेशलाई अशोक विनायक भनिएको हो ।
किंवदन्तीअनुसार उहिले यस मरु गणेशस्थान क्षेत्रमा एक जना सत्पात्र गृहस्थ बस्दथे । उनले एक रात अशोक वृक्ष झलमल्ल उज्यालो भएको देखेछन् । त्यस रुखमा के रहेछ भनेर हेर्न जाँदा उनले गणेशलाई रुखमाथि चढ्दै गरेको देखेछन् । त्यो थाहा पाएपछि गणेश अलप भएछन् । ती गृहस्थले पछि त्यहीँ सुखासनमा बसेको गणेशको मन्दिर बनाएर मूर्ति प्रतिष्ठापन गराएछन् ।
राजा गुणकामदेवले काठमाडौं नगर निर्माण गर्दा शहरको माथिल्लो भागलाई थँहिटी र तल्लो भागलाई कोहिटी नाउँ दिई बीचको भागलाई मरु हिटी भनिए । देशको माथिल्लो भागमा रहेको बुद्ध बिहार थुबही र तल्लो भागमा रहेको विहारलाई कोहिटी बही भनिए जस्तै मरु हिटी क्षेत्रमा रहेका देवस्थलहरू मरु बही, मरु सतः (काष्ठमण्डप) र मरु गणेश (अशोक विनायक)को नाउँबाट केन्द्रिकृत हुन पुगेको हो । थँहिटी र कोहिटी बीच सीमाविहीन केन्द्रस्थल भएको कारणले मरु गणेशस्थानलाई मरु भनिएको हो कि भन्ने भनाई रहेको छ । साथै स्थानीयबासीहरूले गणेशको मन्दिरमा गजुर नभएको कारणले पनि यस स्थानलाई मरु भनिएको हो कि भन्ने भनाई पनि रहेको छ ।
मल्लकालमा आएर मरु तहविलका धर्मनारायण साय्मी र मरु बहीका ज्यापुहरूको सहभागितामा प्रत्येक वर्ष दशैंमा बुसाँध पूजा र गणेश जात्रा चलाएको स्थानीयबासीहरूको कथन छ । अशोक विनायकलाई वैदिकले महादेव र पार्वतीका सुपुत्र मयलबाट बनेको भगवान् मान्दछन् भने बौद्धहरू माता मायादेवीले भगवान् बुद्ध जन्मनु अघि सपनीमा देखेको शुभ संकेतको प्रतिक सेतो हातीका रूपमा पुज्दछन् । उपत्यकाबासी तान्त्रिक र धर्मालम्बीहरू गणेशलाई राँगा, हाँस, कुखुरा आदि बली दिएर गणप्रमुख (सेना प्रमुख) देवताका रूपमा पुज्ने मौलिक परम्परा रहेको छ । थुप्रै धर्म सम्प्रदायहरूको साझा देवता गणेशलाई मल्लकालमा एक टोलबाट अर्को टोलको सीमा निर्धारण गर्ने, कुनै पनि देवीदेवताको पूजा गर्नु अघि सम्मान दिने देवताको रूपमा मान्दथे । यस मरु गणेश स्थान प्रत्येक १२ वर्षको एकपटक किराँती राजा गास्तीका वंशज गथुमाली जातिका पचली भैरवसँग गद्दिसीन राजाले खड्ग साट्ने केन्द्रस्थलको रूपमा मानिन्छ ।
मरु गणेशलाई हनुमानढोका गणेशको स्थान दिइएको छ । राजदरबारमा हुने धार्मिक कार्यमा सम्मानपूर्वक मरु गणेशको पूजा गर्ने चलन लामो समयसम्म चलेको थियो । राजकुमारको पास्नीको समयमा राजकुमारलाई मरु गणेशको दर्शन गर्न ल्याउने चलन थियो । राज्याभिषेकमा पनि राजा–महाराजाहरू मरु गणेशको दर्शनमा आउने गर्दथे । यस मन्दिरमा वि.सं. १९०४ सालमा सुरेन्द्रविक्रम शाहको पालामा सुनको छाना पनि हालिएको थियो रे ।
गणेश पुराणअनुसार भाद्र शुक्ल गणेश चौथीका दिन गणेशको जन्म भएको मानिन्छ । अशोक विनायक गुठीले हरेक वर्षको यस दिन मरु गणेशमा विशेष पूजा कार्यक्रम गर्दै आइरहेको छ । यस दिन ब्रत बसी गणेशको पूजा गरे कार्य सिद्धी, मनमा शान्ति र धनधान्यले भरिपूर्ण हुने धार्मिक विश्वास रहेको छ । यस दिन गणेशजीको मूर्तिलाई खटमा राखेर नगरयात्रा गराउने चलन रहिआएको छ । नगर परिक्रमा अघि गणेशजीको मूर्तिलाई मरु गणेश गुठी सदस्यहरूका चेलीबेटीको घरमा लगेर पूजाआजा गरिन्छ भने नगर परिक्रमा सम्पन्न भएपछि गणेशजीको मूर्तिलाई मन्दिरमा पुनः प्रतिस्थापन गर्ने गरिन्छ । काठमाडौं उपत्यकाबासीमाझ चार विनायक, जलविनायक, कार्यविनायक। सूर्यविनायक र अशोक विनायक प्रसिद्ध छन् ।
अन्य समुदायले गणेश चौथी मनाइने यो दिन नेवार समुदायले चथा पर्व मनाउने गर्दछ । चथा पर्वमा नेवार समुदायमा उखु, अदुवा, चथाजस्ता बनस्पतिलगायतका बस्तु चन्द्रमा (चथा द्यः) लाई चढाएर यो पर्व मनाउने चलन छ ।